-1753440825.jpg)
बहादुर सिं लामा नेतृत्वको बागमती प्रदेश सरकार ढल्ने भएको छ ।
मुख्यमन्त्री पदबाट लामालाई हटाएर नेपाली काँग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेशसभा सदस्य इन्द्र बानियाँको नेतृत्वमा सरकार गठन गर्ने तयारी थालिएको छ ।
सरकार परिवर्तनको लागि संसदीय दलकाे नेता परिवर्तन गर्नुपर्ने भएकोले नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामालाई दलको नेताबाट हटाउन संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
केहीबेर अघि २१ जना सांसदहरूको हस्ताक्षरसहितकाे अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता भएको हो । आजै चार जना मन्त्रीहरूले राजीनामा दिएका थिए ।
संसदीय दलकाे कार्यालयमा काँग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका सांसद इन्द्रबहादुर बानियाँको नेतृत्वमा सांसदहरूको बैठक बसेको थियो । बैठक लगतै लामा विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको हो । काँग्रेस संसदीय दलको विधानमा संसदीय दलको नेता नै मुख्यमन्त्री हुने व्यवस्था छ ।
सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति पर्यटन मन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मधु श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री लामा नेतृत्वको सरकारले आव २०८२/८३ का लागि ल्याएको बजेटमा काङ्ग्रेसभित्र चर्को विवाद भएको थियो । बजेट विवाद उत्कर्षमा पुग्दा काँग्रेस सांसदहरू सरकारको नेतृत्व परिवर्तन गर्ने पक्षमा पुगेको बताइएको छ ।
१३ पुस २०७९ मा भएको काँग्रेस संसदीय दलको निर्वाचनमा मुख्यमन्त्री लामासँग बागमती प्रदेश सभापति बानियाँ ५ मतले पराजित भएका थिए । लामाले २१ मत ल्याउँदा बानियाँले १६ मत मात्रै पाएका थिए ।
प्रदेश सरकार परिवर्तनको लागि सभापति शेर बहादुर देउवाको ग्रिन सिग्नल पाएपछि बानियाँ पक्ष हौसिएको हो । लामा र बानियाँ दुवै काँग्रेस संस्थापन पक्षका हुन् ।