Everest Face
बानियाँले अराजक व्यवहार देखाए, म सामना गर्न तयार छु: मुख्यमन्त्री लामा

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले नेपाली काँग्रेस बागमती प्रदेशका सभापति एवम् सांसद इन्द्र बानियाँले आफूलाई हटाउने भनेर अराजक र हास्यास्पद व्यवहार गरेको बताएका छन् । 

बानियाँ विधि र प्रक्रियाभन्दा बाहिर गएर अराजक ढङ्गले अगाडि बढ्न खोजेकाले आफू सामना गर्न तयार रहेको उनले बताएका छन् । 

“बानियाँ जीले कर्मचारीहरूलाई फोन गरेर ‘काम नगर्नु, म आउँदै छु’ भनेर भन्नु भएछ । यो भन्दा हास्यास्पद काम अरू के हुन सक्छ ?”, मुख्यमन्त्री तामाङ भने, “म विधि र प्रक्रियामा विश्वास गर्ने र चल्ने मान्छे हो । म सामना गर्न तयार छु ।”

मुख्यमन्त्री तामाङले आफू संसदीय दलको नेता हुँदा हुँदै आफूलाई खबर नै नगरी बैठक बसेको, हास्यास्पद ढङ्गले अविश्वासको प्रस्ताव पेश गरेको र अराजक ढङ्गले प्रस्तुत भएको बताउँदै यस्तो प्रवृत्तिले नेपाली काँग्रेसलाई सिद्ध्याउने दाबी समेत गरे । 

मुख्यमन्त्री लामाले हिमालायान टेलिभिजनसँग कुराकानी गर्दै यस्तो प्रवृत्तिले पार्टी र समग्र लोकतान्त्रिक प्रणालीलाई नै कमजोर बनाउने दाबी गर्दै अराजकताको पछि नलाग्न सांसदहरूलाई अपिल समेत गरेका छन् । 

शुक्रवार प्रदेश सरकारका चार जना मन्त्रीहरूले राजीनामा दिएका थिए । राजीनामा पश्चात् लामालाई संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव पेश गरेका थिए ।

लामालाई संसदीय दलको नेताबाट हटाएर मुख्यमन्त्री पदबाट हटाउने र बानियाँलाई संसदीय दलको नेता बनाएर मुख्यमन्त्री बनाउने रणनीति अनुरूप अविश्वासको प्रस्ताव पेश गरिएको थियो । 

काँग्रेस संसदीय दलको विधानमा संसदीय दलको नेता नै मुख्यमन्त्री हुने व्यवस्था छ ।

सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति पर्यटन मन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मधु श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री लामा नेतृत्वको सरकारले आव २०८२/८३ का लागि ल्याएको बजेटमा काङ्ग्रेसभित्र चर्को विवाद भएको थियो । बजेट विवाद उत्कर्षमा पुग्दा काँग्रेस सांसदहरू सरकारको नेतृत्व परिवर्तन गर्ने पक्षमा पुगेको बताइएको छ ।

१३ पुस २०७९ मा भएको काँग्रेस संसदीय दलको निर्वाचनमा मुख्यमन्त्री लामासँग बागमती प्रदेश सभापति बानियाँ ५ मतले पराजित भएका थिए । लामाले २१ मत ल्याउँदा बानियाँले १६ मत मात्रै पाएका थिए ।

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update