
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले बुधवार तीन मन्त्री नियुक्त गरेका छन् ।
लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् ।
लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । माया श्रेष्ठ र गीता गुरुङको जिम्मेवारी भने तोकिन बाँकी छ ।
काँग्रेस बागमती प्रदेशको संसदीय दलकाे नेता चयनको लागि मतदान हुनै लाग्दा मुख्यमन्त्री लामाले तीन जना मन्त्री नियुक्त गरेका हुन् ।
९ साउनमा चार जना र १३ साउनमा १ जना मन्त्रीले राजीनामा दिएपछि बागमतीमा काँग्रेसले सम्हालेका पाँच मन्त्रालय मन्त्री विहीन थिए ।
गोविन्द लम्साल आन्तरिक मामिला तथा कानुन मन्त्री बनिसकेकाले अझै युवा तथा खेलकुद, संस्कृति तथा पर्यटन, खानेपानी, ऊर्जा तथा सिँचाइ र सहकारी तथा गरिबी निवारण मन्त्रालय नेतृत्वविहीन छन् ।
लामालाई संसदीय दलकाे नेताबाट हटाउन साउन ९ गते अविश्वासको प्रस्ताव पेश भएको थियो ।
लामाको विपक्षमा उभिएका सांसदहरूमा इन्द्रबहादुर बानियाँ, शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दिपेन्द्र श्रेष्ठ, पुकार महर्जन, बिनु रायमाझी पौडेल ,यमुना देवी श्रेष्ठ, उर्मिला नेपाल केसी, शान्ता ढकाल, प्रभात तामाङ, छिरीङ्ग दोर्जे लामा, मीना पराजुली, याङ्किला शेर्पा, मीन कृष्ण महर्जन, बिमल ठकुरी, मदुकुमार श्रेष्ठ, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने, सुना परियार,श्यामबहादुर खड्का र कृष्णबहादुर तामाङलगायत छन्।
लामाको पक्षमा उभिनेमा लामासहित, कुन्दनराज काफ्ले, उत्तम जोशी, लक्ष्मी श्रेष्ठ, रमेशकुमार महत, हरिप्रभा खड्गी, रामकुमार पहाडी, क्षत्रबहादुर बम्जन, गिता गुरुङ, मसिना खड्का, तिर्थ लामा ,रामकृष्ण चित्रकार, माया श्रेष्ठ, गोविन्द लम्साल र समिता खड्गी लगायत सांसदहरू छन् ।
लामाले संसदीय दलकाे नेता नरहे पनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने बताएका छन् । संविधानमा मुख्यमन्त्री बन्नको लागि दलकाे नेता हुनुपर्ने प्रावधान नभएकाले आफूले राजीनामा दिनु नपर्ने लामाको दाबी छ ।
काँग्रेस बागमती प्रदेश सभापति समेत रहेको सांसद इन्द्र बानियाँले आफू मुख्यमन्त्री बन्नकै लागि लामा विरुद्ध अविश्वासको प्रस्ताव अघि सारेका थिए ।
लामालाई दलकाे नेताबाट हटाए पनि मुख्यमन्त्री पदबाट हटाउन गाह्रो
संसदीय दलको नेता हट्दा समेत लामाले पद नछाड्ने अडान राख्दा नयाँ मुख्यमन्त्री चयनका लागि काँग्रेस भित्रैबाट असहज परिस्थिति उत्पन्न हुने देखिन्छ । काँग्रेस सांसदले अर्को व्यक्तिलाई संसदीय दलको नेता चुनेको अवस्थामा समेत नयाँ मुख्यमन्त्री तत्कालै हुने परिस्थिति देखिँदैन ।
लामा संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री बनेका हुन् । १६८ (१) अनुसार एउटा दलको बहुमत नपुगेर सरकार नबनेपछि १६८ (२) अनुसार उनी मुख्यमन्त्री बनेका हुन् ।
संविधानको धारा १६८ (२) मा ‘प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गर्ने’ व्यवस्था छ ।