Everest Face
सिङ्ल्हामा साउन २३ र २४ गते चौथो म्हेन्दोमाया गीत प्रतियोगिता हुँदै

उत्तरी धादिङमा प्रचलित तामाङ समुदायको मौलिक संस्कृति, भेषभूषा, रहनसहन र परम्परा झल्काउने म्हेन्दोमाया (फुलमाया) दोहोरी गीतको चौथो संस्करणको प्रतियोगिता आगामी साउन २३ र २४ गते हुने भएको छ ।

सिङ्ल्हा मानेकाे डकुमेन्ट्री हेर्न यहाँ क्लिक  गर्नुहाेस्ः सिङ्ल्हा मानेः हिमालकाे काखमा लुकेकाे माैन तिर्थ | 

धादिङ, नुवाकोट र रसुवाको संगमस्थल तथा धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्त्व बोकेको सिङ्ल्हा म्हाने क्षेत्रमा जनैपूर्णिमाको अवसरमा लाग्ने झाँक्री मेलाका साथमा जम्बुलिङ फिल्म्स प्रा.लि. को आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा सहभागी हुन समूह दर्ता शुल्क रु ४,००० तोकिएको छ । 

प्रतियोगितामा प्रथम पुरस्कार: रु २५,००० नगद र प्रमाणपत्र, द्वितीय पुरस्कार: रु १५,००० नगद र प्रमाणपत्र र तृतीय पुरस्कार: रु १०,००० नगद र प्रमाणपत्रकाे व्यवस्था गरिएको छ । 

कार्यक्रमको पहिलो चरण नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका, खर्क रुप्चेत मा आयोजना गरिनेछ ।  प्रतियोगिताको उद्देश्य भनेको तामाङ समुदायभित्र लुकेका कला, संस्कृति र प्रतिभाको खोजी गर्दै तिनलाई विश्वसामु चिनाउने रहेको आयोजकको भनाइ छ ।

यसअघि यस्ता कार्यक्रमहरू म्हेन्दोमाया कलाकार समूहको संयोजनमा हुँदै आएका थिए भने यस पटक जम्बुलिङ फिल्म्स परिवारले आयोजनाको जिम्मा लिएको हो ।

धार्मिक स्थल सिङ्ल्हा म्हानेको महत्त्व :

सिङ्ल्हा म्हानेलाई तामाङ समुदायले अत्यन्तै पवित्र धार्मिक स्थल मानेका छन् । स्थानीय जनविश्वास अनुसार यहाँ दर्शन गर्दा, भाकल गर्दा वा पूजा गरेमा रोग, सन्तानहीनता तथा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । जनैपूर्णिमाको दिन यहाँ झाँक्रीहरू, लामाहरू र हजारौँ श्रद्धालुहरूको भीड लाग्ने गर्दछ ।

तर यति महत्त्वपूर्ण स्थलको संरक्षण र प्रवर्द्धनमा अहिलेसम्म स्थानीय, प्रदेश वा सङ्घीय सरकारबाट कुनै उल्लेखनीय सहयोग नपाइएको आयोजकले गुनासो गरेका छन् । उनीहरूका अनुसार अघिल्लो वर्षहरूमा समेत आफ्नै लगानीमा कार्यक्रम आयोजना गरिँदै आएको हो ।

आयोजक मूल समिति परिवारले यस कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण कला–सङ्गीतप्रेमी, संस्कृति–प्रेमीहरू, तामाङ समुदायका व्यक्तित्वहरू, सम्पूर्ण नागरिक तथा सम्बन्धित पक्षहरूलाई सहभागी भई साथ र समर्थन गरिदिन अनुरोध गरेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  २२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update