Everest Face
कुनै सुविधा लिन्नँ, मलाई 'माननीय' भनेर सम्बोधन नगर्नुहोला: मन्त्री घिसिङ

नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले आफू देश र जनताको सेवा गर्न मन्त्री पद सम्हाल्न पुगेको बताउँदै आफूलाई माननीय भनेर सम्बोधन नगर्न आग्रह गरेका छन् । 

आइतबार सिंहदरबारस्थित मन्त्रालयमा  पदभार ग्रहण गर्दै मन्त्री घिसिङले यस्तो बताएका हुन् । 

नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक समेत रहेका घिसिङले पहिलो निर्णयका रूपमा विद्युत् प्राधिकरणको बाँकी बक्यौता उठाउने निर्णय गरेका छन् ।

मन्त्री घिसिङले कुनै सरकारी सुविधा नलिने घोषणा गरेका छन् । उनले आफ्नो नामको तलबभत्ता शहीदहरूको सहयोग कोषमा राख्ने उल्लेख गरेका छन् ।

सुरक्षाका लागि आवश्यक पर्ने सुरक्षाकर्मीबाहेक अन्य कुनै सुविधा नलिने घोषणा उनले गरेका हुन् । पदभार ग्रहण गर्दै उनले भ्रष्टाचारविरुद्ध आफूले शून्य सहनशीलता अपनाउने बताए ।

‘शून्य सहनशीलता अपनाइने छ । भ्रष्टाचार नियन्त्रण मुख्य मात्र हो । यसलाई निर्मूल गर्नुपर्छ,’ उनले भने, ‘अनियमितता र भ्रष्टाचार गरेको भेटियो भने कारबाही गर्छौँ । भ्रष्टाचार नियन्त्रण मेरो जीवन–मरणको विषय हो ।’

उनले आफ्नो पारदर्शितामा कुनै प्रश्न आयो भने सिधा आफैँलाई सम्पर्क गर्ने उनले अनुरोध गरेका छन् । उनले सही मान्छे सही ठाउँमा राख्ने आफ्नो नीति रहेकाले यसमा कुनै सम्झौता नगर्ने बताए ।

त्यस्तै उनले आफूले खादा माला नलगाउने समेत घोषणा गरेका छन् ।

मन्त्री घिसिङलाई ऊर्जासहित सहरी विकास र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज तीन मन्त्रीको नियुक्त गरेकी हुन् । तीन वटै मन्त्रीहरूले आ–आफ्नो कार्यभार सम्हालिसकेका छन् ।

नेपालमा लामो समयदेखि डेडिकेडट तथा ट्रङ्क लाइनको सुविधा लिएको उद्योगी व्यवसायीहरूले बक्यौता नदिएको गुनासो आइरहेको थियो । यसअघि प्राधिकरणको नेतृत्वमा कुलमान हुँदा उनले त्यही कदममा एक्सन लिएको लगायत कारणले सरकारले कुलमानलाई हटाएको थियो ।

 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update