Everest Face
मलेशियाका पूर्व प्रधानमन्त्री नाजिव रजाकलाई १५ वर्ष जेल सँजाय

मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाक १एमडिबी (वान मलेसिया डेभलपमेन्ट बेरहाद) सरकारी लगानी कोषबाट करोडौँ अमेरिकी डलर दुरुपयोग गरेको अभियोगमा शुक्रबार दोषी ठहर भएका छन्।

देशको उच्च अदालतले ७२ वर्षीय नाजिबलाई शक्तिको दुरुपयोगसम्बन्धी चार अभियोगमा दोषी ठहर गरेको हो भने मनी लन्ड्रिङसँग जोडिएका अन्य अभियोगहरूको फैसला प्रक्रिया अझै जारी छ।

अभियोजन पक्षका अनुसार नाजिबले १एमडिबी कोषबाट ७० करोड डलरभन्दा बढी रकम आफ्नै व्यक्तिगत बैंक खातामा हिनामिना गरेका थिए। नाजिबले भने सबै आरोप अस्वीकार गर्दै उक्त रकम साउदी अरेबियाबाट आएको राजनीतिक चन्दा भएको दाबी गरेका छन्। साथै, घोटालाका मुख्य योजनाकार भनिएका लो टेक झो र उनका सहयोगी वित्तदाताहरूले आफूलाई छलमा पारेको उनको भनाइ छ। तर लो टेक झो हालसम्म फरार छन्।

न्यायाधीश कोलिन लरेन्स सेक्वेराहले नाजिबको साउदी अनुदानसम्बन्धी दाबीलाई ‘अविश्वसनीय’ भन्दै खारेज गरेका छन्। अदालतका अनुसार साउदी दातासँग सम्बन्धित भनेर पेश गरिएका चारवटा पत्र नक्कली थिए र प्रमाणहरूले रकम १एमडिबी कोषबाटै आएको स्पष्ट देखाएका छन्। नाजिब आफू निर्दोष र ठगिएको व्यक्ति भएको प्रतिरक्षा पनि अदालतले अस्वीकार गरेको छ।

न्यायाधीशले नाजिब र लो टेक झोबीच ‘घनिष्ठ र अटुट सम्बन्ध’ रहेको उल्लेख गर्दै लोले १एमडिबीमा नाजिबका लागि प्रतिनिधि, मध्यस्थ र सहजकर्ताको भूमिका खेलेको टिप्पणी गरेका छन्। नाजिबले ठूलो रकमको स्रोतबारे छानबिन नगरेको, शङ्कास्पद रकम प्रयोग गरेको तथा अनुसन्धान गरिरहेका तत्कालीन महान्यायाधिवक्ता र भ्रष्टाचारविरोधी प्रमुखलाई हटाएर आफ्नो पद जोगाउने प्रयास गरेको समेत अदालतले उल्लेख गरेको छ।

“अभियुक्त कुनै अनजान ग्रामीण व्यक्ति होइनन्,” न्यायाधीश सेक्वेराहले भने, “चारैतिर भइरहेको गम्भीर कुकर्मबारे उहाँलाई अनभिज्ञ देखाउने प्रयास पूर्ण रूपमा असफल हुन्छ।”

सुनुवाइका क्रममा नाजिब नीलो सूटमा शान्त देखिएका थिए र बेला–बेला नोटबुकमा टिपोट गरिरहेका थिए। सन् २००९ देखि २०१८ सम्म प्रधानमन्त्री रहेका नाजिब यसअघि नै १एमडिबीसम्बन्धी अर्को मुद्दामा दोषी ठहर भई जेल सजाय भोगिरहेका छन्। यही घोटालाकै कारण सन् २०१८ को चुनावमा उनको सरकार पराजित भएको थियो।

सन् २०२० मा उनलाई शक्तिको दुरुपयोग, आपराधिक विश्वासघात र मनी लन्ड्रिङको अभियोगमा १२ वर्षको जेल सजाय सुनाइएको थियो, जुन अगस्ट २०२२ देखि कार्यान्वयनमा आएको हो। यससँगै नाजिब जेल जाने मलेसियाका पहिलो पूर्वप्रधानमन्त्री बनेका थिए। पछि क्षमादान बोर्डको सिफारिसमा उनको सजाय आधा गरिएको र जरिवाना घटाइएको थियो।

नाजिब प्रधानमन्त्री बनेपछि सन् २००९ मा १एमडिबी कोष स्थापना गरिएको थियो र उनी त्यसको सल्लाहकार बोर्डका अध्यक्षसमेत थिए। यही कोषसँग जोडिएको भ्रष्टाचार काण्ड विश्वव्यापी रूपमा फैलिएको थियो। अमेरिकी न्याय मन्त्रालयका अनुसार सन् २००९ देखि २०१४ सम्म करिब ४ अर्ब ५० करोड डलर कोषबाट लुटपाट गरी विभिन्न देशमार्फत धनशोधन गरिएको थियो। उक्त रकम हलिउड फिल्म निर्माण, लक्जरी होटल, याट, कला र गहनामा खर्च गरिएको आरोप छ।

यसै काण्डका कारण गोल्डम्यान स्याक्सले अर्बौँ डलर जरिवाना तिर्नुपरेको थियो। लामो समयसम्म शक्तिशाली राजनीतिक परिवारका सदस्यका रूपमा अछुत मानिएका नाजिब १एमडिबी घोटालापछि जनआक्रोशको केन्द्रमा आएका हुन्।

यस हप्ता नाजिबले नजरबन्दमा सजाय पूरा गर्न माग गरे पनि त्यो असफल भएको छ। अदालतले शाही आदेश संवैधानिक मापदण्डअनुसार नभएको ठहर गरेपछि उनी अझै लामो समय जेलमै बस्नुपर्ने सम्भावना बढेको छ। नाजिबकी पत्नी रोसमाह मन्सोर पनि छुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर भई सजायको सामना गरिरहेकी छन्, यद्यपि उनी हाल अपिलको प्रतीक्षामा जमानतमा छन्।

प्रकाशित मिति: शनिबार, पुस १२, २०८२  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update