धादिङको बेनीघाट रोराङ गाउँपालिकाको सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पौष ३० गतेबाट हुने भएको छ ।
प्रतियोगिता अन्तर्गत सातौँ राष्ट्रपति रनिङ शिल्ड तथा मजदुर शहीद स्मृति कप बृहत् खेलकुद प्रतियोगिता, छैटौँ मदन भण्डारी स्मृति कप फुटबल प्रतियोगिता र तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता एकैसाथ आयोजना गरिनेछ ।
गाउँपालिकाले प्रतियोगिताको समुद्घाटन समारोह मिति २०८२ साल ०९ महिनाको ३० गते विशालटारस्थित चन्द्रोदय माविको प्राङ्गणमा आयोजना गर्ने जनाएको छ ।
प्रतियोगिताको समुद्घाटन तथा समापन समारोहमा जनप्रतिनिधि, शिक्षा समितिका पदाधिकारी, वडास्तरीय शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक सङ्घ, शिक्षकका पेशागत सङ्गठन, विद्यार्थी सङ्गठन, पत्रकार, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, क्याम्पस प्रमुख तथा प्राध्यापक, बुद्धिजीवी, शिक्षाप्रेमी, खेलप्रेमी तथा समाजसेवीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।
बेनीघाट रोराङ गाउँपालिकाले सबै सरोकारवालालाई समारोहमा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन सादर निमन्त्रणा गरेको छ । गाउँपालिकाका अनुसार प्रतियोगिताले विद्यार्थी तथा युवामा खेलकुदको विकास, अनुशासन, नेतृत्व क्षमता र स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्ने विश्वास लिइएको छ ।
पालिकाले यस्ता खेलकुद गतिविधिबाट समावेशी, स्वस्थ र सुखी समाज निर्माणमा टेवा पुग्ने तथा स्थानीय तहमा खेलकुद संस्कृतिको विकास हुने अपेक्षा समेत व्यक्त गरेको छ ।





