नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापतिमा निर्वाचित भएका छन्।
भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो।
विशेष महाधिवेशनले उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाललाई चयन गरेको छ भने महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्विरोध निर्वाचित भएका छन्। साथै विभिन्न समुदाय र क्षेत्रको प्रतिनिधित्व हुने गरी १२१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरिएको छ।
‘काँग्रेसमा नयाँ राजनीतिक अध्याय सुरु’ — गगन थापा
सभापतिमा निर्वाचित भएपछि गगन थापाले नेपाली काँग्रेसमा नयाँ राजनीतिक अध्याय सुरु भएको बताएका छन्। उनले पार्टीलाई विधि, पद्धति र लोकतान्त्रिक मूल्यअनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
“काँग्रेसका सबै क्रियाशील सदस्य बराबर छन्। पार्टी अब विचार, नीति र कार्यदिशाका आधारमा अघि बढ्छ,” थापाले भने।
विशेष महाधिवेशनबाट नयाँ नेतृत्व
पार्टी विधानअनुसार आह्वान गरिएको विशेष महाधिवेशनमा बहुमत प्रतिनिधिको सहभागिता रहेको थियो। महाधिवेशनले नेतृत्व परिवर्तनसँगै पार्टी सङ्गठनलाई थप सुदृढ बनाउने विभिन्न प्रस्तावसमेत पारित गरेको छ।
नवनिर्वाचित महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरेले सङ्गठन विस्तार, आन्तरिक लोकतन्त्र सुदृढीकरण र आगामी निर्वाचन केन्द्रित रणनीतिमा जोड दिने बताएका छन्।
नयाँ नेतृत्वले नेपाली काँग्रेसलाई जनताको भरोसाको पार्टी बनाउँदै आगामी निर्वाचनमा सशक्त ढङ्गले प्रस्तुत गर्ने सङ्केत गरेको छ। नीति, सङ्गठन र नेतृत्वको सामूहिक प्रयासमार्फत काँग्रेसलाई राष्ट्रिय राजनीतिमा मजबुत बनाइने थापाको भनाइ छ।



तस्बिरहरूः नवनिर्वाचित कांग्रेस सभापति गगन थापाकाे फेसबुक पेजबाट





