Everest Face
कैलाश गाउँपालिकाले ल्यायो ५५ करोड ८४ लाख रूपैयाँकाे बजेट
तस्बिरः कैलाश गाउँपालिकाकाे फेसबुक पेजबाट ।

मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि ५५ करोड ८४ लाख ६९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

बुधबार सम्पन्न १८औँ गाउँसभामा अध्यक्ष लोकबहादुर मुक्तानले नीति तथा कार्यक्रम र उपाध्यक्ष बालकुमार मल्लले बजेट प्रस्तुत गरेका हुन्। गाउँसभाले नीति तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक र बजेट सर्वसम्मत पारित गरेको छ।

बजेटमा स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार विकास र सामाजिक क्षेत्रलाई प्राथमिकता दिइएको छ। सामाजिक विकासतर्फ सबैभन्दा बढी २४ करोड ८९ लाख १५ हजार रुपैयाँ विनियोजन गरिएको छ भने पूर्वाधारतर्फ १५ करोड ७० लाख रुपैयाँ छुट्याइएको छ।

गाउँपालिकाले महिला, बालबालिका तथा युवालाई लक्षित कार्यक्रमलाई निरन्तरता दिँदै ‘चेली प्रोत्साहन कार्यक्रम’लाई पनि अघि बढाएको छ। कक्षा १२ उत्तीर्ण गरी २० वर्ष पुगेपछि विवाह गर्ने चेलीलाई सम्मान गर्ने कार्यक्रमअन्तर्गत गाउँसभाको अवसरमा १० जना चेलीलाई नगदसहित सम्मान गरिएको छ।

Kailash_RM-(1)-1782305162.jpg
निति तथा कार्यक्रम पारित पश्चात सामुहिक तस्बिर । तस्बिरः केलाश गाउँपालिकाकाे फेसबुक पेजबाट साभार ।

स्वास्थ्यतर्फ ‘जिरो होम डेलिभरी’ नीति कार्यान्वयन, बिपी स्मृति कैलाश आधारभूत अस्पतालमा सेवा विस्तार तथा ‘कैलाश बन्दै छ, बा–आमालाई सञ्चै छ’ अभियानलाई निरन्तरता दिइने भएको छ।

त्यस्तै, ‘एक घर, एक धारा’ अभियान, पूर्ण सरसफाइउन्मुख पालिका निर्माण, कृषि आधुनिकीकरण तथा ‘बाँझो जमिन नराखौँ, उत्पादन बढाऔँ’ अभियानलाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति: बुधबार, असार १०, २०८३  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update