Everest Face
साहसिक पर्यटन मार्फत समृद्धि खोजिरहेको 'साेक्ला भ्याली'

गाउँ नजिकै 'बाँदर लड्ने भीर' । सुनसान गाउँ-बस्ती । घर-आँगनहरूमा वृद्धवृद्धाहरू मात्रै भेटिन्छन् । युवाहरू भेटिनै गाह्रो ।  दोलखाको भीमेश्वर नगरपालिका-२ स्थित साेक्ला भ्याली ।

चट्टाने भिरकाे फेद अनि ढिस्काहरूमा झुरुप्प परेर बसेका बस्तीहरू -साेक्ला गाउँ, डाँडा गाउँ, बस्नेत गाउँ अनि थामी गाउँ... । तामाङ, थामी, ब्राह्मण लगायत समुदायको साना-साना बस्तीहरू । गाउँ-बस्तीभन्दा तल लमतन्न परेको निकै फराकिलो खेतबारी । खेतबारीको डिलमुनिबाट अविरल बगिरहेछ तामाकाेशी । उत्तरतिर गगनचुम्बी गौरीशङ्कर हिमाल । हरियाली पहाड, वन, पाखा, लेकदेखि बेँसीसम्मका दृश्यहरू । प्रकृतिका सिर्जनाहरूले भरिएको, मानव सिर्जनाहरूले रङ्गिन आतुर झैँ देखिन्छन् साेक्ला भ्याली ।

gyanendra_Shaha-1746517647.jpg
साेक्ला गाउँ । भीमेश्वर नगर-२, दाेलखा । 

साेक्ला भ्यालीकाे साेक्ला गाउँभन्दा माथि अग्ला-अग्ला चट्टाने भीरहरू उभिएका छन् । त्यही भिरहरूको शिरमा बसेका छन् दोलखा बजार, प्रसिद्ध दोलखा भीमसेनको मन्दिर, त्रिपुरासुन्दरीकाे मन्दिर अनि दोलखाको सदरमुकाम चरिकोट बजार । भिरको फेदमा बसेको साेक्ला भ्याली विकास र समृद्धिको हिसाबले पनि फेदमै छ । अझ भनौँ, पिँधमै छ । गाउँमाथिको सदरमुकाम, बजारको झिलिमिली विकास र समृद्धिको हावाले साेक्लाबासीलाई  छाेएकाे छैन । डिलमुनि बसिरहेको साेक्ला भ्यालीलाई चरिकोटले त झन् देखेकै छैन भन्दा पनि अत्युक्ति नहोला । चरिकोट र साेक्लाबीच आकाश जमिनको फरक छ । चरिकोट-दाेलखा बजारबाट तल साेक्ला भ्याली झरेपछि 'लाेन्ली प्लानेट' पुगे झैँ लाग्छ । 

sokla_rock_climbing-(1)-1746517727.jpg
साेक्ला गाउँ । भीमेश्वर नगर-२, दाेलखा । 

जिल्ला सदरमुकाम चरिकोटबाट जम्मा ८ किलोमिटरको दुरीमा रहेको साेक्ला भ्याली साहसिक पर्यटन मार्फत समृद्धि खोजिरहेको छ । गाउँ नजिकै रहेको भिर, उनीहरूकै भाषामा 'बाँदर लड्ने भीर' अहिले साहसिक खेल रक क्लाइम्बिङमा रमाउने पर्यटकहरूको लागि 'हट स्पट' बन्न थालेको छ ।  सोक्ला भ्यालीलाई ‘एड्भेन्चर क्लाइम्बिङ हब’ बनाउने उद्देश्यसहित हालसालै वैशाख २० र २१ गते साेक्ला भ्याली रक क्लाइम्बिङ महोत्सवको तेस्रो संस्करण सम्पन्न भएको छ । 

sokla_rock_climbing-(5)-1746517708.jpg
रक क्लाइम्विङमा रमाउँदे ।

सोक्लाश्वरी पर्यटन विकास समाजको आयोजना, नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग तथा विभिन्न स्थानीय तहको सहकार्य र माउन्टेन गाइड एसोसिएसन अफ नेपाल (मोगान)को प्राविधिक संयोजनमा महोत्सव सम्पन्न भएको हो । 

दोलखा 'ख' बाट निर्वाचित बागमती प्रदेशसभा सदस्य भरत केसीको प्रमुख आतिथ्ययतामा महोत्सवको उद्घाटन गरिएको थियो । केसीले रक क्लाइम्बिङ महोत्सवले साेक्ला भ्यालीलाई साहसिक पर्यटनको हब बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । 

sokla_rock_climbing-(6)-1746517692.jpg
भरत केसी, बागमती प्रदेशसभा सदस्य ।

"साेक्लाकाे विकासको लागि मैले पनि निरन्तर प्रयास गरिरहेको छु । बजेट पनि विनियोजन गरेको छु । यस रक क्लाइम्बिङ महोत्सवले साेक्ला भ्यालीलाई साहसिक पर्यटनको गन्तव्यको रूपमा चिनाउनेमा म विश्वस्त छु", केसीले भने, "यहाँ रक क्लाइम्विङ मात्रै होइन, प्याराग्लाइडिङ, जिपलाइन, क्यानाेइङ र नजिकै बगिरहेको तामाकाेशीमा र्याफ्टिङ पनि सञ्चालन गर्न सकिन्छ ।"

Tamakoshi-1746517644.jpg
तामाकाेशी नदि  ।

केसीले सिंगटीदेखि साेक्ला भ्यालीसम्म साहसिक जल पर्यटन र्याफ्टिङ सञ्चालन गर्ने योजना अगाडि बढाइसकेको जानकारी दिए ।

त्यसैगरी नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठले दोलखा पर्यटकीय जिल्लाको रूपमा चिनिएको र साेक्ला भ्यालीको रक क्लाइम्बिङले दोलखालाई साहसिक खेल पर्यटनको नयाँ गन्तव्यको रूपमा पनि चिनाउने दाबी गरे ।

sokla_rock_climbing-(8)-1746517686.jpg
नर बहादुर श्रेष्ठ, अध्यक्ष, नेकपा एमाले दाेलखा ।

"दोलखा जिल्ला शैलुङ, कालिन्चोक भगवती, भीमेश्वर मन्दिर, जिरी लगायत प्राकृतिक एवम् धार्मिक स्थलहरू र हिमाली पदमार्गहरूले पर्यटकीय जिल्लाको रूपमा चिनिएको छ । अब साेक्ला भ्यालीले दोलखाको नयाँ पहिचान बढाउने छ ।", अध्यक्ष श्रेष्ठले भने । 

अध्यक्ष श्रेष्ठले साेक्लाकाे पर्यटन विकासमा साेक्लाश्वरी पर्यटन समाजका अध्यक्ष अर्जुन पाख्रिनको महत्त्वपूर्ण योगदान रहेको बताए । 

त्यसैगरी भीमेश्वर नगरपालिकाकी उपमेयर कमला बस्नेतले साेक्ला भ्याली जिल्ला सदरमुकाम नजिकै रहेर पनि तुलनात्मक रूपमा पछि परेको बताउँदै पर्यटन मार्फत समृद्ध बनाउन सकिने बताइन् । 

sokla_rock_climbing-(7)-1746517690.jpg
कमला बस्नेत, उपमेयर, भीमेश्वर नगरपालिका ।

"यो साेक्ला भ्याली नगरपालिका भित्र परे पनि अझ जिल्ला सदरमुकामकाे छेउमै रहेर पनि विकास समृद्धिको हिसाबले पछाडि परेको छ । यस ठाउँको विकासको लागि पर्यटन नै मुख्य विकल्प हो । हामीले पनि पर्यटन मार्फत नै साेक्लाकाे विकास गर्नुपर्छ भनेर लागिपरेका छौँ ।", उनले भनिन् । 

भीमेश्वर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष स्टालीन श्रेष्ठले साेक्ला भ्याली रक क्लाइम्विङ गन्तव्यको रूपमा विकास भइरहेको बताए । अध्यक्ष श्रेष्ठले साेक्ला भ्यालीलाई साहसिक पर्यटनको गन्तव्यको रूपमा विकास गर्न हर प्रयास गरिरहेको जानकारी दिए । 

sokla_rock_climbing-(9)-1746517680.jpg
स्टालिन श्रेष्ठ, वडाध्यक्ष, भीमेश्वर नगरपालिका-२ ।

"साेक्लाकाे पर्यटन विकास गर्न हामी लागिपरेका छौँ । रक क्लाइम्विङकाे लागि चिनिसक्यो, अब र्याफ्टिङ, प्याराग्लाइडिङ, जीपलाइन र क्यानाेइङकाे लागि पनि प्रयास गर्छौँ", वडाध्यक्ष श्रेष्ठले भने, "हामीले अब बाटो राम्रो बनाउनुपर्नेछ, पर्यटकहरूको लागि होमस्टेको अवधारणा अगाडि बढाउनुपर्ने छ ।"

sokla_Bhir-1746517637.jpg
गुम डाँडा र भीर ।

सोक्ला र चक्पा क्षेत्रमा पर्ने गुमडाँडाको करिब ४२० मिटर उचाइको चट्टाने भीरमा रक क्लाइम्बिङ महोत्सवको आयोजना गरिएको हो । रक क्लाइम्बिङको लागि सोक्ला र चक्पाको भीरमा २५/२५ मिटरको तीन वटा सिङ्गल पिचको रक रुट निर्माण गरिएको छ । यसलाई थप विस्तार गर्दै लैजाने र रक क्लाइम्बिङकाे लागि नेपालकै 'बेस्ट एण्ड हट स्पाेट' बनाउने योजना रहेको साेक्लाश्वरी पर्यटन विकास समाजका अध्यक्ष अर्जुन पाख्रिन तामाङले बताए ।

sokla_rock_climbing-(4)-1746517709.jpg
रक क्लाइम्विङ महाेत्सवमा सहभागि विद्यार्थीहरू ।

साहसिक पर्यटनको अथाह सम्भावना बोकेको सोक्ला गाउँ साहसिक पर्यटनका साथै प्राकृतिक, धार्मिक, सांस्कृतिक एवम् पर्या पर्यटनको हिसाबले पनि महत्त्वपूर्ण रहेको छ ।  

महोत्सवमा दोलखाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय क्लाइम्बर र पर्यटनकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको रह्यो ।

sokla_rock_climbing-(12)-1746517657.jpg
महाेत्सवमा उपस्थित अतिथिहरू ।

महोत्सवमा ताम्बा, झाँक्री, पञ्चे बाजा लगायत स्थानीय सांस्कृतिक झाँकीहरूको प्रस्तुति रह्यो । यसले साेक्ला भ्याली सांस्कृतिक पाटोलाई उजागर गरेको छ । 

sokla_rock_climbing-(3)-1746517713.jpg
महाेत्सवमा प्रस्तुति दिँदै स्थानीय ताम्बाहरू ।

त्यस्तै रक क्लाइम्विङ प्राविधिक टोलीका संयोजक एवम् माउन्टेन गाइड एसोसिएसनका अध्यक्ष सञ्जीव गुरुङले महोत्सव विगतको तुलनामा अझ बढी राम्रो भएको बताए । सोक्ला भ्याली प्राकृतिक, सांस्कृतिक र धार्मिक हिसाब उत्कृष्ट रहेको र अब एड्भेञ्चर हबको रूपमा विकास हुनेमा कुनै शङ्का नरहेको गुरुङले बताए।

sokla_rock_climbing-(2)-1746517725.jpg
सञ्जीव गुरुङ, अध्यक्ष, माउन्टेन गाइड एसोसिएसनका ।

गुरुङले भने,  "यो ठाउँ प्राकृतिक, सांस्कृतिक र धार्मिक हिसाबले सम्पन्न छ । यहाँ बेसिकदेखि एड्भान्स तहको रक क्लाइम्बिङ गर्न सकिन्छ । यो ठाउँ नेपालको महत्त्वपूर्ण पर्यटन हब भन्नेमा कुनै शङ्का छैन ।"

सक्सेस लामाले हात पारे प्रतियोगिताको उपाधि

sokla_Bhir-(5)-1746519139.jpg
सक्सेस लामा । 

सोक्ला रक क्लाइम्विङ महोत्सव तथा प्रतियोगिता २०८२ को उपाधि  सक्सेस लामाले हात पारेका छन् । रक क्लाइम्विङ प्रतियोगितामा लामाले १ मिनेट १४ सेकेन्डमा ३० मिटरको रक आरोहण गरेर प्रथम भएको हो ।  

रक क्लाईम्विङ प्रतियोगितामा रोशन रसाइलीले १ मिनेट ३० सेकेन्डमा सो दुरी आरोहण गर्दै दोस्रो स्थान हासिल गरेका छन् । यस्तै पूजन श्रेष्ठले तेस्रो र भरत कार्कीले सान्त्वना स्थान हासिल गरे ।  

सोक्ला रक क्लाइम्विङ मिडिया अवार्ड स्थापना

sokla_Bhir-(6)-1746519283.jpg
कान्तिपुर मिडिया ग्रुप दोलखाका संवाददाता केदार सिवाकोटीलाई सम्मानपत्र प्रदान गर्दै बागमती प्रदेश सभा सदस्य भरत केसी ।

सोक्ला रक क्लाइम्विङ मिडिया अवार्ड स्थापना गरिएको छ । सोक्लाश्वरी पर्यटन विकास समाजले सोक्ला भ्यालीको प्रवर्द्धन, प्रचार प्रसारमा योगदान दिने पत्रकारहरूलाई सम्मान गर्ने उद्देश्यका साथ मिडिया अवार्ड स्थापना गरिएको हो ।

यसै वर्ष स्थापना गरिएको अवार्ड कान्तिपुर मिडिया ग्रुप दोलखाका संवाददाता केदार सिवाकोटीलाई प्रदान गरिएको छ ।

सोक्ला भ्याली र रक क्लाईम्विङको प्रचारप्रसारमा महत्त्वपूर्ण योगदान पुर्याएकाे भन्दै सिवाकोटीलाई सम्मानित गरेको समाजका अध्यक्ष अर्जुन पाख्रिनले जानकारी दिए । 

सो सम्मानका लागि एक लाख रुपैयाँको अक्षय कोष स्थापना गरेर हरेक वर्षको रक क्लाईम्विङ महोत्सवमा प्रदान गरिने जनाएको छ । 

तस्विरः नबराज तामाङ/एभरेष्ट फेस 

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update