
धादिङको बेनीघाट राेराङ गाउँपालिकामा प्रथम स्रष्टा भेला सम्पन्न भएको छ ।
बेनीघाट राेराङ गाउँपालिका प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने उद्देश्यले आयोजित स्रष्टा भेला शुक्रवार विशालटारमा सम्पन्न भएको हो ।
बेनीघाट राेराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) को अध्यक्षता, निलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष एवम् साहित्यकार बद्री दाहाल, डा. नबिनबन्धु पहाडी, विश्व निकेतन काठमाडौँका प्रधानाध्यापक हेरम्बराज कँडेल, लोमश वाङमय प्रज्ञा प्रतिष्ठान काठमाडौँका सल्लाहकार जगदीश्वर पोखरेल, सोही प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे, कलाकार मधु रसाईली लगायत विशिष्ट व्यक्तिहरूको आतिथ्ययतामा स्रष्टा भेला भव्यताका साथ सम्पन्न भएको हो ।
-1750489527.jpg)
भेलामा ४० जनाभन्दा बढी स्रष्टाहरूले गीत, गजल, कविता, मुक्तक, कथा लगायत विभिन्न साहित्यिक सृजनाहरू प्रस्तुत गरेका छन् । गाउँपालिकाको भाषा, कला, साहित्य र सङ्गीत लगायत बौद्धिक सम्पत्तिको संवर्द्धन र प्रवर्द्धनमा टेवा पुर्याउन प्रज्ञा प्रतिष्ठान स्थापना गर्न लागिएको हो ।
गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले गाउँपालिकाले प्रज्ञा प्रतिष्ठान एन जारी गरिसकेको जानकारी दिँदै प्रज्ञा परिषद् र प्रज्ञा कार्यसमिति गठन गर्न लागिएको बताए । भेलाबाट स्रष्टाहरूको पहिचान भएको र स्रष्टाहरूको अभिलेखन पनि गरिएको अध्यक्ष थपलियाले बताए ।

"अब प्रज्ञा प्रतिष्ठानले साहित्यिक गतिविधिहरू सञ्चालन गर्नेछ । त्यसका लागि पालिकाकाे आवश्यक बजेट व्यवस्थापन गर्ने छ । प्रतिष्ठानलाई फलाउन फुलाउन नीति तथा कार्यक्रम बनाएर अघि बढ्ने छौँ ।", अध्यक्ष थपलियाले भने ।
त्यसैगरी निलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष एवम् साहित्यकार बद्री दाहालले कला, साहित्य, भाषा र सङ्गीतको संरक्षण र प्रवर्द्धनका लागि प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने बेनीघाट राेराङकाे कदमको सराहना गरे ।

साहित्यकार दाहालले प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने धादिङको नीलकण्ठपछि दोस्रो पालिका बनेको भन्दै पालिकाका जनप्रतिनिधिहरूलाई बधाई दिए ।
त्यसैगरी साहित्यकार एवम् शिक्षाविद् डा. नविनबन्धु पहाडीले प्रतिष्ठानको नेतृत्व गर्ने व्यक्ति प्राज्ञिक जगतबाटै चुनिनुपर्ने धारणा राखे ।

डा. पहाडीले बेनीघाट राेराङ आफैँमा पकृतिकाे अनुपम सिर्जना भएको बताए । यहाँका स्रष्टाहरूको सिर्जनाहरू अब साहित्यिक जगतमा फैलिँदै जाने र त्यसका लागि प्रज्ञा प्रतिष्ठान आधार भएको उनले बताए ।
बेनीघाट राेराङका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले बेनीघाट राेराङकाे कला, साहित्य, भाषा, सङ्गीतको संरक्षण र संवर्द्धनका लागि प्रज्ञा प्रतिष्ठानले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । पालिकाका स्रष्टाहरूका लागि अब मञ्च तयार भएको उपाध्यक्ष श्रेष्ठले बताए ।

भेलामा गाउँपालिकाका जनप्रतिनिधिहरू, कर्मचारी, शिक्षक, राजनीतिक दल, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू, साहित्यिक जगतका व्यक्तित्वहरू, सञ्चारकर्मी लगायत सरोकारवालाहरूको उपस्थिति थियो ।
अन्य तस्बिरहरूः