-1750686840.jpg)
धादिङको बेनीघाट रोराङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि झन्डै एक अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
आज सोमबार बसेको गाउँपालिका सभाको १७औँ अधिवेशनले रु. ९३,३०,३१,०००/– (त्रियानब्बे करोड तीस लाख एकतीस हजार रुपैयाँ)को बजेट पारित गरेको हो ।
जसमध्ये चालु तर्फ ५८.५३ प्रतिशत र पुँजीगत तर्फ ४१.४७ प्रतिशत खर्च हुने गाउँपालिकाले अनुमान गरेको छ ।
-1750686840.jpg)
क्षेत्रगत रूपमा आर्थिक विकासका लागि ६ करोड ३६ लाख रुपैयाँ, सामाजिक विकासका लागि ४२ करोड २७ लाख ३१ हजार रुपैयाँ, पूर्वाधार विकासका लागि ३१ करोड ८० लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ ।
त्यसैगरी वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि एक करोड १२ लाख ५० हजार रुपैयाँ, संस्थागत विकास तथा सुशासनतर्फ ११ करोड ७४ लाख रुपैयाँ विनियोजन गरेको छ ।
-1750686833.jpg)
खर्च व्यहोर्ने विभिन्न स्रोतहरूमा अन्तर सरकारी वित्तीय हस्तान्तरणमा नेपाल सरकारबाट प्राप्त हुने वित्तीय सामान्यीकरण अनुदानबाट १५ करोड ६१ लाख रुपैयाँ, समपूरक अनुदानबाट ७८ लाख रुपैयाँ, सशर्त अनुदानको रूपमा २९ करोड ६८ लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरेको छ ।
त्यसैगरी प्रदेश सरकारबाट वित्तीय सामान्यीकरण अनुदान बापत एक करोड ६३ लाख ७७ हजार रुपैयाँ, प्रदेश सशर्त अनुदान स्वरूप दुई करोड ९८ लाख २६ हजार रुपैयाँ, प्रदेश विशेष अनुदान बापत ५५ लाख रुपैयाँ र प्रदेश समपूरक अनुदान स्वरूप दुई करोड २४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

त्यसैगरी अन्तर सरकारी वित्तीय हस्तान्तरणको माध्यमबाट प्राप्त हुने राजश्व बाँडफाँटमा नेपाल सरकारबाट राजश्व बाँडफाँटबाट ११ करोड पाँच लाख पाँच हजार आठ सय ९२ रुपैयाँ, खानी तथा रोयल्टी बापत ९५ लाख ३० हजार रुपैयाँ, प्रदेश राजश्व बाँडफाँटबाट चार करोड ५७ लाख ४८ हजार तीन सय रुपैयाँ र स्थानीय राजश्व बाँडफाँटबाट दुई करोड ४१ लाख ५० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
साथै गाउँपालिकाको आन्तरिक स्रोतबाट नौ करोड ७६ लाख ३४ हजार तीन सय ६७ रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ ।
-1750686837.jpg)
चालु आर्थिक वर्ष २०८२/०८३ को बचत न्यूनतम आठ करोड ३६ लाख रुपैयाँ हुने अनुमान गरिएको छ ।
गाउँपालिकाले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममा आर्थिक विकास, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार लगायत क्षेत्रलाई प्राथमिकता दिएको छ । आर्थिक विकासको लागि एक करोड बयानब्बे लाख छब्बीस हजार रुपैयाँ विनियोजन गरेको छ ।
त्यसैगरी “युवामा लगानी, ल्याउँछ विकासमा बिहानी” भन्ने मूल नाराका साथ शिक्षा, युवा तथा खेलकुद क्षेत्रको विकासका लागि चार करोड उनन्सत्तरी लाख रुपैयाँ विनियोजन गरेको छ ।
-1750686838.jpg)
स्वास्थ्य, सरसफाइ तथा खानेपानीतर्फ चार करोड तेह्र लाख पाँच हजार रुपैयाँ विनियोजन गरेको छ ।
गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले चालु आर्थिक वर्षको आयव्यय विवरण सार्वजनिक गर्दै शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गरेको र सोही अनुरूप उपलब्धि पनि हासिल गरेको बताए ।
-1750686839.jpg)
“सामाजिक न्याय र समतामूलक समाजका लागि हामी वर्षौँ देखि लड्दै आजको दिनसम्म आइपुगेका छौँ । तथापि गुणस्तरीय शिक्षामा असमान पहुँचका कारण समाजमा अझै पनि चरम असमानता र सामाजिक विभेदको जरा झाँगिएको छ, हुर्किरहेको छ”, अध्यक्ष थपलियाले भने, “हाम्रो गाउँपालिकामा भने त्यो कदापि हुनु हुँदैन भन्ने लाग्दछ । हामी नीतिगत व्यवस्था एवम् रणनीतिक कार्यक्रम मार्फत हरेक विपन्न कोखमा जन्मिने बालबालिकाको लागि उज्ज्वल भविष्यको समान धरातल कायम गर्ने तर्फ लागिपरेका छौँ ।”
-1750686829.jpg)
गुणस्तरीय शिक्षामा असमान पहुँच र भोकमरी भोलिको सभ्य समाजको बाधक र सामाजिक द्वन्द्वका कारण हुने भन्दै सबैको गुणस्तरयुक्त शिक्षामा समतामूलक पहुँच कायम गरी भोको पेटको अन्त्य गर्न समग्र समाज नै सामूहिक रूपमा जागरूक र जिम्मेवार हुनुपर्ने उनले बताए ।
त्यसैगरी गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले आफूसहित बेनीघाट रोराङका जनप्रतिनिधिहरूले जनताको मालिक नभई सेवक हौँ भन्ने भावनाका साथ एकताबद्ध भएर काम गरिरहेको बताए ।
-1750686834.jpg)
“हामी सार्वभौमसत्ता सम्पन्न बेनीघाट रोराङका जनताबाट निर्वाचित जनप्रतिनिधिहरू हौँ । हामी मालिक होइनौँ, जनताका सेवक हौँ भन्ने राम्ररी बुझेका छौँ”, उपाध्यक्ष श्रेष्ठले भने, “बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी सामाजिक एकता, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् संवर्द्धन गर्दै बेनीघाट रोराङबासीको मुहारमा उज्यालो ल्याउन प्रतिबद्ध छौँ ।”
कुन वडाले कति पाए बजेट ?
१) रु.४,५००,०००/– (अक्षरेपि पैँतालीस लाख रुपैयाँ)
२) रु. ९,२००,०००/– (अक्षरेपि बयानब्बे लाख रुपैयाँ)
३) रु. ६,७००,०००/– (अक्षरेपि सतसट्ठी लाख रुपैयाँ)
४) रु. ५,०००,०००/– (अक्षरेपि पचास लाख रुपैयाँ)
५) रु. ६,०००,०००/– (अक्षरेपि साठी लाख रुपैयाँ)
६) रु. ४,९००,०००/– (अक्षरेपि उनन्चास लाख रुपैयाँ)
७) रु. ४,६००,०००/– (अक्षरेपि छयालीस लाख रुपैयाँ)
८) रु. ५,१५०,०००/– (अक्षरेपि एकाउन्न लाख पचास हजार रुपैयाँ)
९) रु. ५,९५०,०००/– (अक्षरेपि उनन्साठी लाख पचास हजार रुपैयाँ)
१०) रु. ८,२००,०००/– (अक्षरेपि बयासी लाख रुपैयाँ)
अन्य तस्बिरहरूः
तस्बिरः चन्द्र तामाङ/नबराज तामाङ