Everest Face
बेनीघाट रोराङ्गमा पठन पुनर्जागरण अभियान सुरु

“एक पाना पढ्नु भनेको एउटा नयाँ जीवन जिउनु हो” भन्ने मूल नाराका साथ कवि महान त्यागीले बेनीघाट रोराङ्ग गाउँपालिकामा पठन पुनर्जागरण अभियान सुरु गरेका छन् ।

पुस्तकालय दिवसको अवसर पारेर सुरु गरिएको साताव्यापी अभियान अन्तर्गत गाउँपालिकाभित्रका १२ वटै माध्यमिक विद्यालयमा पुगेर उनले विद्यार्थी, शिक्षक र अभिभावकलाई पठन संस्कृतिको महत्त्वबारे सचेत गराएका छन् ।

अभियानका क्रममा उनले करिब दस हजार रुपैयाँ बराबरका ७२ थान पुस्तक वितरण गर्दै विद्यालयस्तरमै पुस्तकालयलाई मजबुत बनाउन योगदान गरेका छन् । कार्यक्रममा विद्यालय प्राचार्यहरूले यसलाई दीर्घकालीन दृष्टिले विद्यालयमा पढ्ने संस्कृतिलाई सबल बनाउने प्रयास भएको भन्दै सह्राना गरेका छन् ।

कविले आफ्नो अनुभव सुनाउँदै भने, “पठन संस्कृतिको अभावले हाम्रो समाज कमजोर हुँदै गएको छ। पुनर्जागरणको बिउ रोप्दै हिँडेको छु, आशा छ निकट भविष्यमा यो ठूलो वृक्ष बन्नेछ ।”

यसअघि पनि उनले गजल गङ्गा मासिक पत्रिका, मालश्री भित्ते फ्लेक्स पत्रिका प्रकाशन गर्दै कविता अभियानमार्फत गाउँका भित्तामा कविता लेख्ने कार्य गरेका थिए । अहिले सुरु गरिएको अभियानले विद्यार्थीहरूमा पठनप्रतिको आकर्षण बढाउने र दीर्घकालीन रूपमा शैक्षिक गुणस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update