Everest Face
बेनीघाट रोराङ—१ मा पुग्यो द्रुतगतिकाे फाइभर इन्टरनेट, स्थानीय हर्षित 

धादिङको बेनीघाट रोराङ गाउँपालिकाको सबैभन्दा विकट वडा नम्बर—१ मा पहिलो पटक द्रुतगतिको फाइवर इन्टरनेट पुगेको छ ।

पृथ्वी राजमार्ग बाट २० किलोमिटरको दुरीमा महाभारत पर्वत क्षेत्रमा पर्ने सो वडाको थामभञ्ज्याङमा आज फाइवर इन्टरनेट पुगेको छ । 

इन्टरनेट सेवा प्रदायक कम्पनी हिमालयन अनलाइन सर्भिसले पहिलो पटक विकट ठाउँमा इन्टरनेट पुर्‍याएको हो । 

सामान्य मोबाइल नेटवर्कले समेत काम नगर्दा सञ्चार सुविधाबाट समेत वञ्चित रहेका स्थानीय बासिन्दा इन्टरनेट पुगेपछि खुसी भएका छन् । 

वडामा इन्टरनेट पुर्याउनको लागि कम्पनीका कर्मचारीसँगै स्थानीय बासिन्दाहरूले श्रमदान गरेको हो । इन्टरनेटको तार तान्नको स्थानीय दुई दर्जनभन्दा बढी युवाहरूले एक हप्ता श्रमदान गरेर गाउँमा इन्टरनेट पुर्‍याएको हो ।

himalayan_Internet--(1)-1764343072.jpg
श्रमदान गर्दै युवाहरू । 

वडामा द्रुतगतिको फाइभर इन्टरनेट पुगेपछि वडाध्यक्ष जीवन सिं तामाङले खुसी व्यक्त गरेका छन् । 

“सामान्य सञ्चार सेवाबाट समेत वञ्चित रहेको हाम्रो वडामा फाइभर इन्टरनेट आइपुग्नु भनेको सञ्चारको क्षेत्रमा क्रान्ति नै हो”, वडाध्यक्ष तामाङले भने, ”हामी अब बल्ल वडालाई बाँकी दुनियाँसँग जोड्न सफल भएका छौँ । हामी खुसी छौँ ।”

त्यस्तै हिमालयन अनलाइन सर्भिसका सेल्स अफिसर खेमराज अधिकारीले धादिङको बनीघाट रोराङ गाउँपालिको विकट ठाउँमा द्रुतगतिको फाइभर इन्टरनेट पुर्‍याउन पाउँदा खुसी लागेको बताए ।

himalayan_Internet--(2)-1764343072.jpg
इन्टरनेटकाे तार तान्न सहयाेग गर्दै वडाध्यक्ष जिवन सिं तामाङ (दायाँ), वडा सदस्य बाबुदलाल तामाङ (बायाँ) ।

“यहाँको वडाध्यक्ष जीवन सिं तामाङज्यूको पहलमा हाम्रो हिमालयन अनलाइन सर्भिसको सहकार्यमा यहाँसम्म द्रुतगतिको फाइभर नेट पुर्‍याउन पाउँदा खुसी लागेको छ”, अधिकारीले भने, “हामीले पहिलो पटक यो ठाउँमा फाइभर इन्टरनेट ल्यायौँ । अब हामी गुणस्तरीय सर्भिस दिन्छौँ ।”

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update