जिल्ला प्रहरी कार्यालय, धादिङले रुवी भ्यालीको प्रहरी चौकी सेर्तुङमा कार्यरत प्रहरी नायव निरीक्षक ईन्द्र बहादुर घिसिङलाई २०८२ साल मङ्सिर महिनाको “महिनाको उत्कृष्ट प्रहरी (Best Police of the Month)” घोषणा गरेको छ ।
प्रहरी नायव निरीक्षक घिसिङले प्रहरी चौकी सेर्तुङको भवन निर्माणका लागि स्थानीय पालिकासँग समन्वय गरी थप जग्गा प्राप्ति प्रक्रियामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । साथै, भवनसम्म पुग्ने सडक बाटो निर्माणका क्रममा उत्पन्न विवादलाई समन्वयात्मक रूपमा समाधान गर्दै निर्माण कार्यलाई सहज बनाएका थिए ।
जिल्लाको अति विकट क्षेत्रमा कमाण्डरको रूपमा खटिई शान्ति सुरक्षा कायम राख्ने तथा अपराध नियन्त्रणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै जिल्ला प्रहरी कार्यालयले उनको कार्यको उच्च मूल्याङ्कन गरेको जनाएको छ ।
कर्तव्यनिष्ठ, अनुशासित र इमानदारिताका साथ जिम्मेवारी निर्वाह गरेको आधारमा उनलाई महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी उपरीक्षक सुमित खड्काले जानकारी दिए ।





