Everest Face
एसइईमा बाँसखर्क माविको छलाङः शतप्रतिशत विद्यार्थी उत्तीर्ण

बेनीघाट रोराङ गाउँपालिका–१ स्थित बाँसखर्क माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा ऐतिहासिक सफलता हासिल गरेको छ।

अघिल्ला दुई वर्षसम्म शून्य नतिजा व्यहोरेको विद्यालयले यस वर्ष भने सहभागी सबै विद्यार्थी उत्तीर्ण गराउँदै शतप्रतिशत नतिजा निकाल्न सफल भएको हो।

विद्यालयबाट यस वर्ष एसइई परीक्षामा सहभागी भएका ८ जना विद्यार्थी सबै उत्तीर्ण भएका छन्। गत वर्ष विद्यालयको उत्तीर्ण प्रतिशत केवल ६.६७ मात्र रहेको थियो। त्यसअघि लगातार दुई वर्षसम्म विद्यालयले एक जना विद्यार्थी पनि उत्तीर्ण गराउन सकेको थिएन। कमजोर नतिजाका कारण आलोचनामा परेको विद्यालयले छोटो अवधिमै गरेको यो सुधारलाई स्थानीय स्तरमा उल्लेखनीय शैक्षिक उपलब्धिका रूपमा हेरिएको छ।

विद्यालय प्रशासनका अनुसार पछिल्लो समय शिक्षकहरूको नियमितता, अतिरिक्त कक्षा सञ्चालन, कमजोर विद्यार्थीलाई लक्षित विशेष तयारी कक्षा तथा अभिभावकसँगको निरन्तर समन्वयका कारण नतिजामा सुधार आएको हो। विद्यालयले अध्ययन–अध्यापनलाई व्यवस्थित बनाउन अनुशासन, नियमित मूल्यांकन र विद्यार्थीकेन्द्रित सिकाइ पद्धतिमा समेत जोड दिएको जनाएको छ।

स्थानीय अभिभावक तथा शिक्षा सरोकारवालाहरूले पनि विद्यालयको सफलताप्रति खुसी व्यक्त गरेका छन्। विगतका कमजोर नतिजाले निराशा बढाइरहेका बेला यस वर्षको उपलब्धिले विद्यार्थी, शिक्षक र अभिभावकमाझ नयाँ उत्साह थपेको उनीहरूको भनाइ छ।

बेनीघाट रोराङ गाउँपालिकाको समग्र एसइई नतिजा यस वर्ष ७८.५१ प्रतिशत पुगेको छ, जुन राष्ट्रिय औसतभन्दा माथि रहेको छ। त्यसमध्ये बाँसखर्क माध्यमिक विद्यालयले हासिल गरेको शतप्रतिशत नतिजालाई गाउँपालिकाभित्रकै प्रेरणादायी सुधारका रूपमा हेरिएको छ।

विद्यालयले आगामी वर्षहरूमा पनि यही उपलब्धिलाई कायम राख्दै थप गुणस्तरीय नतिजा ल्याउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख २९, २०८३  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update