Everest Face
रुवी भ्यालीमा बागमती प्रदेश स्तरीय न्यायिक सम्मेलन हुने

धादिङको रुवी भ्याली गाउँपालिकामा यही जेठ १६ र १७ गते बागमती प्रदेश स्तरीय न्यायिक सम्मेलन २०८३ आयोजना हुने भएको छ ।

“विचार, संवाद र एकता” तथा “भेदभाव रहित न्यायको प्रतिबद्धता” भन्ने मूल नारासहित आयोजना हुन लागेको सम्मेलनमा बागमती प्रदेशभरिका ११९ वटा स्थानीय तहका न्यायिक समिति, जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

सम्मेलनमा स्थानीय तहमा न्याय सम्पादनका अनुभव आदानप्रदान, मेलमिलाप, न्यायिक अभ्यासका चुनौती तथा समाधान, भेदभावरहित न्याय प्रणाली निर्माण लगायत विषयमा छलफल गरिनेछ । साथै स्थानीय न्याय प्रणालीलाई थप प्रभावकारी, सहज र जनमैत्री बनाउने विषयमा विशेष बहस हुने बताइएको छ ।

रुवी भ्याली गाउँपालिका उपाध्यक्ष तथा सम्मेलन संयोजक फेलामा तामाङले स्थानीय तहबीच समन्वय, सहकार्य र अनुभव आदानप्रदानका लागि सम्मेलन महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले स्थानीय न्याय प्रणालीलाई निष्पक्ष, पारदर्शी र जनमुखी बनाउन यस्ता कार्यक्रमले सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

न्यायिक समिति रुवी भ्याली गाउँपालिकाको आयोजनामा हुने सम्मेलन सेर्तुङ, धादिङमा सञ्चालन हुनेछ ।

1b46e878-f72d-4264-b63b-8c76dd4e13f1-1779849871.jpg
 

प्रकाशित मिति: बुधबार, जेठ १३, २०८३  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update