Everest Face
गजुरी-४ काे बाङराङ खोलामा १० करोड रुपैयाँ लागतमा पक्की पुल बन्दै, स्थानीय हर्षित

धादिङको गजुरी गाउँपालिका–४ अन्तर्गत थाङ्सिङखर्क र गोङ्वी गाउँको बीचमा रहेको बाङराङ खोलामा १० करोड रुपैयाँ लागतमा पक्की पुल निर्माण हुने भएको छ ।  

सङ्घीय सरकारले नयाँ आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम मार्फत बाङराङ खोलामा पक्की पुल निर्माण गर्नका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

पक्की पुल बन्ने सुनिश्चित भएपछि स्थानीय बासिन्दामा खुसी छाएको छ । गजुरी गाउँपालिकाको विकट क्षेत्रमा पर्ने वडा नम्बर ४ का स्थानीयले वर्षौँदेखि भोग्दै आएको समस्या अब समाधान हुने भएको छ ।

बाङराङ खोलाले लामो समयदेखि स्थानीयको दैनिक जीवनमा चुनौती थप्दै आएको थियो । विशेषगरी वर्षा याममा खोलामा आउने बाढीका कारण विद्यार्थी, किसान, बिरामी तथा सर्वसाधारणलाई आवतजावत गर्न निकै कठिनाइ हुने गरेको थियो।

Bangrang_Khola-(1)-1781787561.jpg

गजुरी–४ स्थित श्री पिण्डेश्वरी माध्यमिक विद्यालयमा अध्ययन गर्ने भुमेढुङ्गा, दरिङ्गाल, चिउरिखर्क, अर्खौले र थाङ्सिङखर्क क्षेत्रका विद्यार्थीहरू हरेक दिन यही खोला पार गरेर विद्यालय आवतजावत गर्नुपर्छ । वर्षाको समयमा खोला बढ्दा विद्यार्थीहरू जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था थियो भने कतिपय समयमा पढाइसमेत प्रभावित हुने गरेको थियो ।

पुल निर्माण सम्पन्न भएपछि विद्यार्थीहरूको विद्यालय आवतजावत सुरक्षित हुनुका साथै स्थानीय बासिन्दाको दैनिक जीवन सहज हुने अपेक्षा गरिएको छ । यसले गजुरी–४ का बस्तीहरूलाई थप सहज रूपमा जोड्ने र स्थानीय आर्थिक तथा सामाजिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

Bangrang_Khola-(2)-1781787561.jpg

पुल निर्माणको लागि बजेट विनियोजन गरेपछि वडाध्यक्ष सुरेन्द्र चेपाङले सङ्घीय सरकारलाई धन्यवाद व्यक्त गरेका छन् । संघीय सांसद उर्मिला थपलिया (सिता) काे सिफारिसमा सरकारले पुल निर्माणकाे लागि बजेट विनियाेजन गरेकाे वडाध्यक्ष प्रजाले जानकारी दिए । 

लामो समयदेखि पुल निर्माणको माग गर्दै आएका स्थानीयवासीहरूले सरकारको निर्णयको स्वागत गरेका छन् । उनीहरूका अनुसार पुल बनेपछि वर्षौँदेखि भोग्दै आएको जोखिम, डर र सास्तीको अन्त्य हुने मात्र होइन, विकट मानिएको यस क्षेत्रको विकासमा समेत महत्त्वपूर्ण योगदान पुग्नेछ ।

प्रकाशित मिति: बिहीबार, असार ४, २०८३  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update