-1746608787.jpg)
उत्तरी धादिङको प्राकृतिक, धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक पर्यटकीय स्थल सिङ्ल्हामा विशेष मेला गाग्ने भएको छ ।
सिङ्ल्हा पर्यटन क्षेत्र विकास समाजले बुद्ध जयन्तीको अवसर पारेर वैशाख २७ देखि २९ गतेसम्म विशेष धार्मिक एवम् सांस्कृतिक मेलाको आयोजना गरेको हो ।
प्राकृतिक सुन्दरताको खानी, सांस्कृतिक रूपमा सम्पन्न र ऐतिहासिक महत्त्व बोकेको पवित्र धार्मिक तपाेभूमि सिङ्ल्हा माने धादिङको खनियाँवास गाउँपालिका र रुबी भ्याली गाउँपालिकाको सङ्गम स्थल हो । सिङ्ल्हा समुन्द्री सतहबाट चार हजार पचास मिटरको उचाइमा अवस्थित छ ।
-1746608788.jpg)
सिङ्ल्हामा प्रत्येक वर्ष जनैपूर्णिमाकाे दिन विशेष मेला लाग्ने गरेको छ । परापूर्वकालदेखि नै तामाङ समुदायका बोम्पो (झाँक्री) र लामाहरू प्रत्येक वर्षको भदौ पूर्णिमा(जनै पूर्णिमा)को दिन सिङ्ल्हामा प्रार्थना गर्न जाने प्रचलन रहेको छ । बोम्पोहरुले आफ्ना शक्ति बढाउन वा नयाँ चेलाहरूलाई दीक्षान्त प्रदान गर्न सिङ्ल्हालाई रोज्ने गर्दथे । पुराना बाेम्पाेहरू थप शक्ति बढाउन र नयाँ बाेम्पाेहरू गुरुबाट दीक्षित हुन सिङ्ल्हा जाने गर्दछन् ।
जनै पूर्णिमाको बेला (साउन-भदाैकाे महिना)मा पानी पर्ने र मेला भर्न जान कठिन हुने भएकाले बुद्धजयन्तीकाे अवसरमा मेलाको आयोजना गरिएको सिङ्ल्हा पर्यटन विकास समाजका अध्यक्ष मङ्ग तामाङले एभरेष्ट फेसलाई जानकारी दिए ।

"सिङ्ल्हा बाेन धर्म र बुद्ध धर्मसँग जोडिएको पवित्र धार्मिक स्थल हो । परापूर्वकालदेखि नै बाेम्पाेहरू जनैपूर्णिमाकाे अवसरमा त्यहाँ पुग्ने र विशेष मेला पनि लाग्ने गरेको छ । तर, पानी पर्ने समय भएकाले टाढाका मानिसहरू पुग्न सक्दैनन्", अध्यक्ष तामाङले भने, "बुद्ध जयन्ती (वैशाख पूर्णिमाको) अवसरमा मेला आयोजना गर्दा टाढा टाढाका मानिसहरू पनि पुग्न सक्छन् । यस बेला मौसम सफा पनि रहन्छ ।"
यस वर्षदेखि प्रत्येक वर्ष बुद्धजयन्तीकाे अवसरमा मेलाको आयोजना गरिने तामाङले बताए । "यस वर्ष हामीले सुरुवात गर्न लागेको हो । अब आगामी वर्षहरूमा पनि बुद्धजयन्तीकाे अवसरमा मेला निरन्तर लाग्नेछ ।"
मेलामा बाेम्पाे (झाँक्री), लामाहरूको विशेष सांस्कृतिक झाँकी प्रस्तुत हुने, म्हेन्दाेमाया, साइकाेले लगायत स्थानीय कलाहरूको प्रस्तुतिका साथै स्थानीय कलाकारहरूले प्रस्तुति दिने अध्यक्ष तामाङले जानकारी दिए ।
त्यसैगरी सिङ्ल्हाकाे धार्मिक, प्राकृतिक, सांस्कृतिक एवम् ऐतिहासिक महत्त्व, रुबी भ्याली तथा सिङ्ल्हा क्षेत्रको पर्यटनको प्रवर्द्धन, विकास र विस्तार लगायत विषयमा वादविवाद तथा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिने उनले जानकारी दिए ।
सङ्घीय राजधानी काठमाडौँसँग जोडिएका जिल्ला धादिङको उत्तरी क्षेत्र पर्यटनको अथाह सम्भावना बोकेको भूमि हो । बहुमूल्य पत्थर रूबी पाइने भएकाले रूबी भ्यालीको नामले चिनिए पनि यस क्षेत्रको समग्र विकासको लागि राज्यकाे पर्याप्त ध्यान पुगेको छैन ।

प्रकृतिको अनुपम उपहार हो सिङ्ल्हा । जहाँबाट गणेश हिमाल, लाङटाङ हिमाल, पाल्दोर पिक, मनासलु हिमाललाई चुम्बन गर्न सकिन्छ । बौद्ध धर्मगुरु पद्यम सम्भव (गुरु रिम्पाेछे)ले वास गरेको स्थल र शक्तिको रूपमा रहेको यस सिङल्हामानेमा दर्शन गर्नाले पापबाट मुक्ति मिल्ने तथा मनले चिताएको पुरा हुने जनविश्वास समेत रहेको छ । सिङ्ल्हा क्षेत्रमा थुप्रै प्राकृतिक कुण्डहरू, झर्नाहरू समेत रहेका छन् । लमतन्न परेर बसेका चौर, हरियाली डाँडापाखा, वनजङ्गल, वनस्पति, जीवजन्तु तथा पशुपंक्षीहरूकाे चिरबिरले स्वर्गको अनुभूति दिलाउँछ ।
कसरी पुग्ने सिङ्ल्हा ?
सिङ्ल्हा पुग्ने अनेक बाटो तथा पदमार्गहरू छन् । यो यात्रा सहज र उपयुक्त हुन सक्छ ।
काठमाण्डौको बालाजु बाइपासबाट गल्छी-त्रिशूली-सोलेबजार-सातदोबाटो-किस्पाङ-काहुले-भाल्चे-गोङ्गासम्म मोटर बाटो रहेको छ । सातदोबाटो सम्म पक्की पिच सडक ८० किमि र बाँकी ३० किस्पाङ गाउँपालिका १ स्थित बाल्ची भाल्चे हुँदै गोङगा भन्ज्याङसम्मको करिब ११० किलोमिटर सडक यात्रा तय गर्नुपर्दछ ।
काठमाण्डौंबाट बिहान भाल्चेको लागि नियमित बस छुट्ने गर्दछ । गोङगाबाट करिब साढे तीन घण्टाको पैदलयात्रा पछि रुपचेत पुगिन्छ । रुपचेतमा बास बस्ने र बिहान करिब डेढ घण्टा उकालो हिँडेपछि सिङल्हा मानेको टाकुरोमा पुग्न सकिन्छ । त्यसैगरी जिल्ला सदरमुकाम धादिङबेँसीबाट किम्ताङफेदी हुँदै रूबीभ्याली पुगेर पनि सिङ्ल्हा पुग्न सकिन्छ ।