Everest Face
जनैपूर्णिमाका दिन धादिङको सिङ्ल्हामा विशेष पूजासहित मेला आयोजना हुने

उत्तरी धादिङको ऐतिहासिक एवम् पवित्र  धार्मिक स्थल ‘सिङ्ल्हा’मा जनैपूर्णिमाकाे अवसरमा विशेष पूजा–पाठ तथा मेला आयोजना गरिने भएको छ ।

प्राकृतिक, धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक पर्यटकीय स्थल सिङ्ल्हा धादिङ, नुवाकोट र रसुवा जिल्लाको सङ्गम स्थल हो । समुन्द्री सतहबाट करिब ४ हजार मिटरको उचाइमा अवस्थित रहेको छ । 

सिङ्ल्हा मानेकाे डकुमेन्ट्री हेर्न यहाँ क्लिक गर्नुहाेस्ः सिङ्ल्हा मानेः हिमालकाे काखमा लुकेकाे माैन तिर्थ |

सिङ्ल्हामा प्रत्येक वर्ष जनैपूर्णिमाकाे अवसरमा भव्य मेला लाग्ने गर्दछ । यस दिन सिङ्ल्हामा स्थानीय झाँक्री र लामा समुदायद्वारा विधिवत् पूजा गरिन्छ । भक्तजनहरू आफ्नो मनोकामना पूरा होस् भन्ने कामनासहित दर्शन गर्न पुग्ने गर्दछन् । मेलामा हजारौँको सङ्ख्यामा श्रद्धालुहरूको उपस्थिति रहने गर्दछ ।

रुबी भ्याली गाउँपालिका, खनियाबास गाउँपालिका (धादिङ) र किस्पाङ गाउँपालिका (नुवाकोट) को संगमस्थलमा अवस्थित सिङ्ल्हा, प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल पनि हो । 

यहाँ आगन्तुकहरूले मौलिक पहिरनमा सजिएर पारम्परिक गीत–सङ्गीत र नृत्यमार्फत आफ्नो सांस्कृतिक पहिचान झल्काउने गर्दछन् ।

यति महत्त्वपूर्ण धार्मिक एवं पर्यटकीय स्थल राजधानी काठमाडौँबाट नजिकै भए पनि राज्यको ध्यान नपुगेको र पर्याप्त प्रचारप्रसार नहुनुका कारण अझै ओझेलमा परेको देखिन्छ। 

सिङ्ल्हाको विषयमा वृत्तचित्र समेत निर्माण भइसकेको भए तापनि, यसको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारका लागि सम्बद्ध निकायको सक्रियता आवश्यक देखिन्छ ।

धार्मिक पर्यटनको प्रवर्द्धनसँगै, स्थानीय संस्कृतिको जगेर्ना र आर्थिक सशक्तीकरणमा योगदान पुर्‍याउन सक्ने सम्भावना बोकेको सिङ्ल्हा जस्ता स्थललाई दीर्घकालीन दृष्टिकोणले संरक्षण र संवर्द्धन गर्नुपर्ने आवश्यकता विशेषज्ञहरू बताउँछन् ।

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update