Everest Face
धादिङको नीलकण्ठ नगरपालिका बन्यो देशकै उत्कृष्ट स्थानीय तह

धादिङको नीलकण्ठ नगरपालिका देशकै उत्कृष्ट स्थानीय तह बनेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नतिजा अनुसार नीलकण्ठ देशकै उत्कृष्ट स्थानीय तह बनेको हो । 

सामान्य प्रशासन मन्त्रालयले आज शुक्रवार मन्त्रालयमा आयोजित एक समारोहबीच नीलकण्ठ नगरपालिकासहित देशैभरिबाट उत्कृष्ट ६ स्थानीय तहहरूलाई सम्मानित गरेको छ ।

general_administration-1755871182.jpg
सम्मान कार्यक्रम ।

राष्ट्रिय स्तरमा उच्चतम अङ्क हासिल गर्ने गाउँपालिका तथा नगरपालिकालाई सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको उपस्थितिमा सम्मानित गरेको हो ।  

नीलकण्ठ नगरपालिका ९३.७५ प्रतिशतसहित समग्र देशकै उत्कृष्ट पालिका बनेको हो । नगरपालिकाहरुमध्ये चितवनको खैरहनी नगरपालिका ९२.७५ प्रतिशतसहित दोस्रो र रुपन्देहीको तिलोत्तमा नगरपालिका ९१.२५ प्रतिशतसहित तेस्रो बनेको छ ।

general_administration-(1)-1755871181.jpg
सम्मान कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुङ्गाना लगायत ।

त्यसैगरी गाउँपालिकाहरूमध्येबाट धादिङको बेनीघाट रोराङ गाउँपालिका ९१.७५ प्रतिशतसहित पहिलो, गुल्मीको रुरुक्षेत्र गाउँपालिका ९०.०० प्रतिशतसहित दोस्रो र स्याङ्जाका अर्जुनचौतारी गाउँपालिका ८८.७५ प्रतिशतसहित तेस्रो उत्कृष्ट गाउँपालिका बनेको छ । 

गाउँपालिका र नगरपालिकाको कार्य प्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले संस्थागत स्वमूल्याङ्कनको विधि अपनाइएको मन्त्रालयले जनाएको छ । 

general_administration-(4)-1755871178.jpg
सम्मान ग्रहण गर्दै उत्कृष्ट गाउँपालिका बेनेकाे बेनीघाट राेराङ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको आव २०८०/८१ को नतिजाअनुसार उत्कृष्ट बनेका पालिकाहरूलाई सम्मानित गरेको हो । 

गुणस्तर परीक्षण पश्चात् कायम भएको स्वमूल्याङ्कनको अन्तिम नतिजा सार्वजनिक गरी राष्ट्रिय स्तरमा उच्चतम अङ्क हासिल गर्ने गाउँपालिका तथा नगरपालिकालाई सम्मानित गरेको हो ।

top_ten_local_levels-1755877235.jpg
देशभरिका १० उत्कृष्ट स्थानीय तहहरू ।

नीलकण्ठ नगरपालिका यस अघि पनि देशकै उत्कृष्ट पालिका बनेको थियो । 

कार्यक्रममा बोल्दै नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुङ्गानाले उत्कृष्ट बनेको पालिकालाई कदरपत्र र दोसल्लाबाट मात्रै सम्मानित गरेको भन्दै दुखेसो पोखे ।

general_administration-(13)-1755871166.jpg
भीम प्रसाद ढुङ्गाना, मेयर, नीलकण्ठ नगरपालिका, धादिङ ।

“उत्कृष्ट भएको भनेर कदरपत्र र दोसल्ला ओढाएर मात्रै सम्मानित गरेको त । यो त अलि भएन । अब उत्कृष्ट हुनेलाई केही योजना, कार्यक्रम तथा बजेटको पनि व्यवस्था गर्नुपर्‍यो । ताकि केही पाउने भएपछि स्थानीय तहहरू राम्रो काम गर्न प्रतिस्पर्धा गर्नेछन् ।”, मेयर ढुङ्गानाले भने ।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष समेत रहेका मेयर ढुङ्गानाले स्थानीय सरकारलाई स्थानीय तह भन्ने गरेको भन्दै गुनासो गरे । 

“संविधानले तीन तहको सरकारको परिकल्पना गरेको छ । तर स्थानीय सरकारलाई चाहिँ ‘स्थानीय तह’ भनेर सम्बोधन गर्ने गरेको पाइन्छ”, मेयर ढुङ्गानाले भने, “संविधान संशोधन गरेर भए पनि स्थानीय सरकारलाई स्थानीय सरकार नै भन्ने व्यवस्था गर्नु आवश्यक छ ।”

general_administration-(14)-1755871165.jpg
पद्मा अर्याल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्याेपानेले स्थानीय सरकारका मागहरूलाई सम्बोधन गर्न सङ्घीय सरकार तयार रहेको बताइन् । 

मन्त्री न्याैपानेले संविधानले तीन तहको सरकारको परिकल्पना गरेको हुनाले सबै तहको सरकार स्वायत्त हुने तर एकअर्काबीच समन्वय र सहकार्य भने जरुरी रहेको बताइन् ।

“अहिले संविधान संशोधनको कुरा पनि उठिरहेकै छ । स्थानीय सरकारका मागहरूलाई सम्बोधन गर्न आवश्यक संशोधन पनि अवश्य हुने नै छ । म यस विषयमा गम्भीरताका साथ आवाज उठाउने छु”, मन्त्री न्याैपानेले भनिन् ।  

उत्कृष्ट बनेका पालिकाहरूलाई बधाई दिँदै मन्त्री न्याैपानेले अझै उत्कृष्ट कार्य सम्पादन गर्न सुझाव दिइन् ।

अन्य तस्बिरहरूः 

general_administration-(6)-1755871175.jpg

general_administration-(3)-1755871178.jpg

general_administration-(7)-1755871173.jpg

general_administration-(9)-1755871171.jpg

general_administration-(11)-1755871168.jpg

general_administration-(16)-1755871162.jpg

general_administration-(17)-1755871161.jpg

general_administration-(18)-1755871159.jpg

general_administration-(15)-1755871163.jpg

general_administration-(2)-1755871180.jpg

तस्बिरः चन्द्र तामाङ/एभरेष्ट फेस

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  २०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update