Everest Face
प्रथम युनिभर्सल अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा रुवीभ्यालीलाई अनुशासित अवार्ड, पाँच स्वर्णसहित ऐतिहासिक सफलता

काठमाडौँमा सम्पन्न प्रथम युनिभर्सल अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता–२०८२ मा धादिङको रुवीभ्याली गाउँपालिकाका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै अनुशासित अवार्ड हात पारेका छन् ।

पुस ४ देखि ६ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा रुवी भ्यालीका खेलाडीहरूले ५ स्वर्ण, ४ रजत र ४ कास्य पदक जित्दै गाउँपालिकाको गौरव बढाएका हुन् ।

प्रतियोगितामा प्रशान्त तामाङ, खुसी तामाङ, सुस्मा रानी घले र विशाल घलेले स्वर्ण पदक जित्न सफल भएका छन् । यसैगरी कृष्ण माया तामाङ, जोशीला तामाङ, रोहन तामाङ र दनेश तामाङले रजत पदक प्राप्त गरेका छन् भने अनुस्का तामाङ, मानभ तामाङ, रञ्जना तामाङ र सोहन तामाङले कास्य पदक जितेका छन् ।

रुवी भ्याली गाउँपालिकाका खेलाडीहरूले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा स्वर्ण पदक जित्दै आएको उल्लेख गर्दै आयोजकले यसपटक पनि उनीहरूको अनुशासन, खेल भावना र उत्कृष्ट प्रदर्शनको कदरस्वरूप अनुशासित अवार्ड प्रदान गरिएको जनाएको छ ।

प्रतियोगितामा उपस्थित रुवी भ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले खेलाडीहरूको सफलताप्रति खुसी व्यक्त गर्दै, “सीमित स्रोतसाधनका बाबजुद पनि रुवी भ्यालीका खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा गाउँपालिकाको नाम उजागर गरिरहेका छन् । यो हाम्रो लागि गर्वको विषय हो । खेल क्षेत्रको विकासका लागि गाउँपालिका निरन्तर साथ र सहयोगमा रहने बताए ।”

त्यसैगरी कराँते प्रशिक्षकद्वय सेर्तुङ डोजोका ओम बहादुर तामाङ, लापा डोजोका सन्देश घले र तिप्लिङ डोजोका रोशन घलेको भनाइ अनुसार खेलाडीहरूको मेहनत र अनुशासन नै सफलताको मुख्य आधार भएको बताउँदै, “खेलाडीहरूले निरन्तर अभ्यास, अनुशासन र आत्मविश्वासका साथ प्रतिस्पर्धा गरे । त्यसकै परिणामस्वरूप पाँचवटा स्वर्ण पदकसहित अनुशासित अवार्ड प्राप्त गर्न सफल भएको बताए ।”

प्रतियोगितामा प्राप्त सफलताले रुवी भ्याली गाउँपालिकामा खेलकुदप्रति थप उत्साह बढाएको छ भने स्थानीय तहबाट खेलाडी उत्पादन र प्रोत्साहनमा थप बल पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update