Everest Face
राष्ट्रिय सभामा  प्रधानमन्त्री सुशीला कार्कीको सम्बोधन: “जेन्जी आन्दोलन हाम्रो समाजको ऐना हो”

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभामा पहिलो पटक सम्बोधन गर्दै जेनजी युवाहरूको नेतृत्वमा भएको आन्दोलनलाई “हाम्रो समाज, शासन प्रणाली र आचरणगत कमजोरी देखाउने ऐना” को संज्ञा दिएकी छन्।

सदाचार नीतिसम्बन्धी प्रतिवेदनमाथि भएको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन युवा आकाङ्क्षाको बेवास्ता, भ्रष्टाचार र राज्य सञ्चालनमा देखिएको संवेदनहीनताविरुद्धको चेतनाबाट जन्मिएको स्पष्ट पारिन्। संविधानको मर्मअनुसार सुशासन, विकास र समृद्धिमा खरो उत्रन नसक्नु नै आन्दोलनको मूल कारण भएको उनको भनाइ थियो।

प्रधानमन्त्री कार्कीले आफू कुनै शासकीय आकाङ्क्षा वा पदलालसाका कारण प्रधानमन्त्री बनेको नभई, देशलाई संवैधानिक सङ्कटबाट जोगाउन र बिथोलिएको व्यवस्था ट्र्याकमा ल्याउन विषम परिस्थितिमा जिम्मेवारी सम्हालेको बताइन्। जेनजी आन्दोलनकै भावना अनुसार मुलुकलाई पुनः संवैधानिक लयमा फर्काउन प्रतिनिधि सभा विघटन गरी २०८२ फागुन २१ गते निर्वाचन गर्ने सिफारिस गरिएको पनि उनले स्मरण गराइन्।

उनले आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहिद परिवारप्रति गहिरो समवेदना व्यक्त गरिन् भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिन्। सरकारले सहिद घोषणा, राहत, उपचार र जीविकोपार्जनलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी पनि दिइन्।

प्रधानमन्त्री कार्कीले सरकार र आन्दोलनकारीबीच मुलुकको राजनीतिक दिशा बदल्ने ऐतिहासिक सम्झौता सम्पन्न भइसकेको उल्लेख गर्दै भ्रष्टाचार न्यूनीकरणका लागि पूर्ण प्रतिबद्धताका साथ काम भइरहेको बताइन्। प्रविधिमा आधारित ‘सुशासनको मार्गचित्र’ (Governance Blueprint) अन्तिम चरणमा पुगेको जानकारी दिँदै सार्वजनिक निकायलाई पारदर्शी र उत्तरदायी बनाउने प्रयास जारी रहेको उनको भनाइ थियो।

आगामी प्रतिनिधि सभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षसँग आह्वान गर्दै उनले एकीकृत निर्वाचन सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको र अधिकांश लुटिएका हतियार बरामद भइसकेको जानकारी गराइन्। निर्वाचनप्रति जनतामा देखिएको उत्साहले लोकतन्त्रप्रतिको आस्था र भरोसा प्रष्ट हुने उनले बताइन्।

सदाचार नीति कुनै कागजी दस्ताबेज वा भाषणले मात्र लागू नहुने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले सार्वजनिक पदाधिकारीको आचरण र व्यवहारमै सदाचार देखिनुपर्नेमा जोड दिइन्। जेनजी आन्दोलनको मूल मुद्दा नै भ्रष्टाचाररहित समाज, सुशासन र सदाचार भएको उनको भनाइ थियो।

राष्ट्रिय सभालाई परिपक्व र विवेकशील संस्थाको रूपमा वर्णन गर्दै उनले यस सदनबाट प्राप्त निर्देशनलाई सरकारले शिरोपर गर्ने प्रतिबद्धता व्यक्त गरिन्। छोटो कार्यकालको अन्तिम चरणमा पुगेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले भत्किएका संस्थाहरूलाई जोडेर नयाँ आशाको बीउ रोपिएको दाबी गरिन्।

अन्त्यमा उनले भ्रष्टाचार, दण्डहीनता र अन्यायका संरचनात्मक कारणको अन्त्यका लागि सबै निकाय एकजुट भएर लाग्न आग्रह गर्दै आफ्नो सम्बोधन टुङ्ग्याइन्।

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update