-1747149939.jpg)
उत्तरी धादिङको सिङ्ल्हामा प्रथम सिङ्ल्हा पर्यटन महोत्सव-२०८२ भव्यताका साथ सम्पन्न भएको छ । सिङ्ल्हा पर्यटन क्षेत्र विकास समाजको आयोजनामा वैशाख २७ गतेदेखि २९ सम्म तीन दिने महोत्सव सम्पन्न भएको हो । सिङ्ल्हाकाे पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उदेश्यले समाजले बुद्ध जयन्तीको अवसर पारेर सिङ्ल्हामा विशेष धार्मिक एवम् सांस्कृतिक महोत्सवको आयोजना गरेको हो ।
प्राकृतिक सुन्दरताको खानी, सांस्कृतिक रूपमा सम्पन्न र ऐतिहासिक महत्त्व बोकेको पवित्र धार्मिक तपाेभूमि सिङ्ल्हा माने धादिङको खनियाँवास गाउँपालिका र रुबी भ्याली गाउँपालिकाको सीमा क्षेत्रमा पर्दछ । समुन्द्री सतहबाट चार हजार दुई सय मिटरको उचाइमा अवस्थित सिङ्ल्हा क्षेत्र धादिङ, नुवाकोट र रसुवाको सङ्गम स्थल पनि हो ।
प्रकृतिको अनुपम उपहार हो सिङ्ल्हा । जहाँबाट गणेश हिमाल, लाङटाङ हिमाल, पाल्दोर पिक, मनासलु हिमाललाई चुम्बन गर्न सकिन्छ । बौद्ध धर्मगुरु पद्य सम्भव (गुरु रिम्पाेछे)ले वास गरेको स्थल र शक्तिको रूपमा रहेको यस सिङल्हामानेमा दर्शन गर्नाले पापबाट मुक्ति मिल्ने तथा मनले चिताएको पुरा हुने जनविश्वास समेत रहेको छ । सिङ्ल्हा क्षेत्रमा थुप्रै प्राकृतिक कुण्डहरू, झर्नाहरू समेत रहेका छन् । लमतन्न परेर बसेका चौर, हरियाली डाँडापाखा, वनजङ्गल, वनस्पति, जीवजन्तु तथा पशुपंक्षीहरूकाे चिरबिरले स्वर्गको अनुभूति दिलाउँछ ।
तस्बिरहरूः
तस्बिरः चन्द्र तामाङ/नबराज तामाङ